मोदीको नेपाल भ्रमण र विकासका मुद्दा
विशेष संवाददाता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन महिनाभित्रै हुने भनिएको नेपाल भ्रमणका लागि काठमाडौंले तयारी थालिसकेको छ । यसै वर्ष नोभेम्बर महिनामा तय गरिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुने त पक्कापक्की थियो, तर त्यसभन्दा केही समय अघि नै पशुपति दर्शनका लागि तय भएको भनिएको शक्तिशाली छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणले भारतले नेपाललाई महत्व दिएको देखापर्छ, भनेर परराष्ट्र मामला जानकारहरुले टिप्पणी गरेका छन् ।
भारतीय प्रधानमन्त्रीहरुले नेपालको भ्रमण नगरेको लामो समय व्यतीत भैरहेको छ । आइके गुजरालपछि द्विपक्षीय तहमा भारतीय प्रधानमन्त्रीहरु नेपाल आएका छैनन् । सन् १९९७ मा गुजरालले नेपाल भ्रमण गरेका थिए । नेपालका भने हरेकजसो प्रधानमन्त्रीहरुले भारतको भ्रमण गर्ने परम्परा छ, त्यो पनि प्रधानमन्त्री हुने बित्तिकै पहिलो भ्रमण भारतको ग¥यो कि गरेन भन्ने कुराले खास माने राख्दछ नेपाली राजनीतिमा । गुजरालपछि अटल बिहारी बाजपेयी भारतीय सरकार प्रमुखका रुपमा सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । क्षेत्रीय सम्मेलनमा भाग लिन आएकाले यसलाई भारत र नेपालबीचको द्विपक्षीय तहमा भएको भ्रमणका रुपमा लिन सकिएन ।
खासगरी नेपालको सशस्त्र द्वन्द्व र त्यसपछिको संक्रमणकालका वहाना देखाएर कतिपय निमन्त्रणाहरुलाई छिमेकी भारतका प्रधानमन्त्रीहरुले टार्दै आएका थिए । दुई वर्षअघि चीनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पनि नेपाल भ्रमण गर्ने कुरा सतहमा आएको थियो तर, त्यसले मूर्तता पाउन सकेन ।
भारतीय राजनीतिक तहसँग नेपालको टुट्दो सम्बन्ध
भारतका प्रधानमन्त्रीहरुको लामो समयदेखि छिमेकी नेपालको भ्रमण नगर्नुको अर्को प्रमुख कारण हो, नेपाली राजनीतिक तह र भारतीय राजनीतिक तहबीचको टुट्दो सम्बन्ध । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र तत्कालीन भारतीय समकक्षीहरुसँग जुन खालको राजनीतिक तहको सम्बन्ध थियो । त्यसपछिको पुस्तामा आउने नेताहरुले भारतीय नेताहरुसँग त्यो तहको सम्बन्ध स्थापित गर्नै सकेनन् । बीपी र चन्द्र शेखरको तहमा एउटा आत्मिक सम्बन्ध थियो । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारतीय समकक्षी अटल विहारी बाजपेयीलाई “में अटलजी जैसा अविवाहीत हुँ, लेकिन ओ जैसा कुवाराँ नहीं” भनेर मजाक गरेको पनि सुन्न पाइन्थ्यो । यद्यपि गिरिजाप्रसाद कोइरालाको सोनिया गान्धी तथा प्रणव मुखर्जी लगायतका राजनीतिज्ञहरुसँग घनिष्ट सम्बन्ध रहेको चर्चा हुन्थ्यो । नेपाली राजनीतिमा दोस्रो पुस्ताका नेताहरुको प्रवेशसँगै अब त्यो सम्बन्ध राजनीतिक तहबाट हट्दै गएको र भारतीय गुप्तचर निकायसँग सीमित हुन पुगेको सम्बन्धका बारेमा चर्चा भएको पाइन्छ । केही समयअघि प्रकाशित पत्रकार सुधीर शर्माको प्रयोगशाला नामक पुस्तकले त “नेपाली नेताहरुको भारतीय राजनीतिक वृत्तमा सम्बन्ध कमजोर रहेको तथा भारतीय गुप्तचर निकाय “आईबी” र “र” बाट निर्देशित रहेको” भनेर खुलासा गरेका छन् । यो स्थितिमा आइपुग्नु नेपालको राजनीतिक र कुटनीतिक असफलता हो ।
भारतमा नेतृत्व हस्तान्तरण
गएको मे महिनामा भएको भारतीय लोकसभा चुनावमा भारी मतका साथ विजयी बनेका भारतीय जनता पार्टी (बीजेपी) का नेता नरेन्द्र मोदीको भारतमा उदय र उनको दल बीजेपीको नेपाल चासोले नेपाल र भारत सम्बन्धलाई नयाँ शिराबाट सोच्नुपर्ने अवस्था आएको बताउँछन्, परराष्ट्र मामला जानकार निश्चलनाथ पाण्डे, “भारतको सरकारमा भएको यो नेतृत्व हस्तान्तरणसँगै नेपाल भारत सम्बन्धमा पनि केही उतारचढाव पक्कै आउनेछ ।” नेपालको आन्तरिक मामलामा भारतले हस्तक्षेप गर्दैन, भनेर कतिपय बीजेपी नेताहरुले प्रतिक्रिया दिइसकेका छन् ।
मोदी एक हिन्दूवादी नेताका रुपमा चिनिन्छन्, तर उनी हिन्दू अतिवादी भने होइनन् । मोदीको राजनीतिक सूत्रमा अविछिन्न गाँसिएको विकासको मुद्दाले आज उनलाई १४औं भारतीय प्रधानमन्त्रीका रुपमा उक्त कुर्सीमा विराजमान गराएको छ । संसारका प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा धेरै मत पाएर चुनिएका प्रधानमन्त्री भनेर अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले समाचार प्रकाशन÷प्रसारण गरेका छन् । मोदीको बहुआयमिक छवि र विश्लेषण क्षमताका कारण आज उनी भारतीय जनताका प्रिय बनेका छन् ।
मोदी र विकास
नरेन्द्र मोदी र विकास एक अर्काका पर्यायबाचीजस्तै बनेका छन् । गुजरातको मुख्यमन्त्री रहँदा सन् २००२ मा उनी एक धार्मिक दंगाका कारण विवादमा पनि तानिएर । गोदरा काण्डका नामले चर्चित उक्त काण्डमा मोदीलाई मुसलमानको नरसंहारका लागि हिन्दूलाई उक्साएको आरोप लागेको थियो । तर शान्त र शालीन स्वभावका मोदीमाथि लगाइएको उक्त आरोप प्रमाणीत भएन र उनलाई अदालतले सफाइ पनि दिइसकेको छ ।
गुजरातको मुख्यमन्त्री रहेर नरेन्द्र मोदीले सन् २०१४ को मे मा सम्पन्न लोकसभा चुनावसम्म आइपुग्दा आफूलाई विकासको पर्यायवाची बनाइसकेका थिए । गुजरातको आर्थिक संवृद्धिमा मोदी सोचलाई आदर्श मानिन्छ । त्यही आर्थिक संवृद्धीको नारा घन्काएर उनी आज केन्द्र सरकारका प्रमुख भई भारतमा आर्थिक रुपान्तरणका लागि दत्तचित्त छन् । उनै मोदीको नेपाल भ्रमणमा नेपालले मुख्यतः विकासको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । अहिले विकासलाई प्राथमिकतामा राख्ने भनेको उर्जाको विकास नै हो । भारतमा उर्जा खपत् बढ्दो छ । विकासको गतिमा तीव्र रुपमा अघि बढीरहेको भारतलाई आगामी दिनमा अझ बढी उर्जा आवश्यक पर्छ, जुन नेपालले उपलब्ध गराउन सक्छ जलविद्युत्को विकासबाट ।
भारतसँग मिलेर विकास गर्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अघि बढ्न सकेको छैन, जुन मोदी भ्रमणका बेला टुङ्गो लाग्न सक्छ । यससँगै माथिल्लो कर्णाली आयोजना विकासका लागि भारतीय निर्माण कम्पनी जीएमआरसँग सम्झौता भैसकेको छ तर उसले काम अघि बढाएको छैन । यस्तै अन्य केही जलविद्युत् परियोजना जो नेपाल र भारतको हितमा छन् तिनलाई अघि सार्नुपर्छ ।
विकासलाई राम्ररी बुझेका भारतीय प्रधानमन्त्रीको भ्रमणमा नेपाल भारत सीममा निर्माण गर्ने भनिएको एक्सप्रेस हाइवे, रेलमार्ग विस्तार तथा अन्य विकास आयोजनाहरुमा पनि नेपालले भारतसँग सार्थक निष्कर्षमा पु¥याउनुपर्छ ।
नेपाल भारतबीच व्यापार र पारवहन सहजताका लागि पनि नेपालका तर्फबाट प्रस्ताव हुन आवश्यक छ । सन् १९९७ मा नेपाल भ्रमण गर्दा तत्कालीन भारतीय प्रधानमन्त्री गुजरालले नेपाल “स्क्रु ड्राइभर” प्रविधिले नभई दीगो विकासको बाटोमा अघि बढोस् भन्दा नेपालीहरुले त्यसको मर्म बुझेनन्, त्यतिबेला नेपालमा तेश्रो मुलुबाट सबै कच्चा वस्तु झिकाएर नेपालमा एसेम्बर गरी भारत निर्यात गरिने थुप्रै वस्तु थिए । गुजरालले त्यो “स्क्रु ड्राइभर” प्रविधि दीगो हुँदैन त्यसैले नेपालले आफ्नै केही निर्यात गरोस् भन्ने चाहेका थिए । त्यही अनुरुप मोदी भ्रमणका क्रममा आउने सन्देशलाई पनि राम्ररी बुझेर नेपाली पक्षले सार्थक रुपमा विकासको मुद्दालाई अघि बढाउन जरुरी छ ।
Posted on: 2014-Aug-18
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story