25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बालविवाहले बढाउ“दै छ घरघरमा हिंसा

12 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 अमृता अनमोल
रुपन्देहीको सेमरा मर्चवार– ३ की विद्यालक्ष्मी सानैदेखि पढाइमा तेज थिइन् । छोरीलाई धेरै पढाउने र शिक्षक बनाउने चाहना थियो उनकी आमाको । तर, समयले साथ दिएन । पाँच कक्षा पढ्दापढ्दै बाह्र वर्षको उमेरमा विद्यालक्ष्मीको बिहे भयो ।  बिहेपछि पढाइ छोडेकी यी कलिली बालिका अहिले आमासँग घरधन्दाको काम सिक्दै छिन् । ‘छोरीलाई बीचमै पढाइ छुटाएर बिहे गर्ने मन थिएन,’ विद्यालक्ष्मीकी आमा रामरतिले गुनासो गरिन्, ‘तर, छोरीलाई पढाएर हुर्केपछि बिहे गर्दा दिने दाइजो मसँग थिएन । त्यसैले बाध्य भएर बिहे गरिदिएँ ।’ उनका भनाइमा पढेकी र बढेकी छोरी बिहे गर्दा पढेको ज्वाइँ खोज्नुपर्छ । बिहेमा उसले मागेजति दाइजो दिनुपर्छ भन्ने डर प्रस्ट देखिन्थ्यो । ‘दाइजोको डरले बिहे त गरिदिएँ तर सानैमा पतिको घर पठाउँदा उसले भोग्नुपर्ने समस्या सम्झँदा मन अमिलो भएको छ,’ रामरतिले सुनाइन् । मर्चवारकै शिवप्रसाद हरिजनले पनि ६ कक्षा पढ्दै गरेकी १३ वर्षीया छोरीको तीन महिनाअघि बिहे गरिदिए । केटा पाइँदैन कि भन्ने डरले सानैमा छोरीको बिहे गरेको उनले बताए । ‘छोरी हुर्कंदै जाँदा आफन्तले कुरा काट्न थाले । माग्न आउने आफन्त पनि पातलिन थाले,’ उनले भने, ‘त्यसैले छोरीको बिहे सानैमा गरिदिएँ ।’ लोकलाज र दाइजोबाट बच्न खोज्दाखोज्दै पनि बिहेमा दुई लाख रुपैयाँ दाइजोका लागि खर्चेको शिवप्रसादले बताए ।  छोेरीको सानैमा बिहे गरिदिए पुन्य कमाइने धार्मिक विश्वास छ । त्यसमाथि पढाइका लागि धेरै लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने व्यावहारिक कारणले रूपन्देहीका केही समुदायमा अझै पनि बालविवाह गर्ने चलन छ । यही चलन मान्ने रामरति र शिवप्रसादजस्ता अभिभावकका कारण धेरै बालिका बाल्यावस्था पूरा नगर्दै बिहेको बन्धनमा बाँधिन विवश छन् । रूपन्देहीका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारूलगायतका जातिमा बालविवाहको चलन बढी छ । जसले यी समुदायका ७० प्रतिशतभन्दा बढी बालबालिकालाई उमेर नपुग्दै विवाहमा बाँधिन बाध्य पारेको छ । सातदेखि १३ वर्षको उमेरभित्रै विवाहबन्धनमा बाँधिएका धेरै बालिका विवाहको अर्थ पनि बुझ्दैनन् । उनीहरू बिहे किन भयो जान्दैनन् । कोसँग विवाह भएको हो भन्ने जानकारी पनि उनीहरूलाई छैन । ‘चार कक्षामा पढ्दै गर्दा पोहोर बिहे भयो,’ बिहेपछि माइतीघरमै बस्दै आएकी १३ वर्षीया रायपुर– ३ की वौना रैदासले भनिन्, ‘बिहे भएपछि के गर्ने पनि थाहा छैन । केटाको नाम पनि थाहा छैन । बिहेचाहिँ भारतको फुलबनियामा भएको हो रे ।’  उसो त पछिल्लो समयमा तराईका समुदायमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना नजागेको पनि होइन । बालविवाह गर्न नहुने कुरा पनि केही जान्दै गएका छन् । तर, बढ्दै गएको दाइजोको प्रचलनले शिक्षितमा पनि बालविवाह रोकिन सकेको छैन । मधेसमा दुलाहाको पढाइ र पेसाअनुसार विवाहमा दाइजो दिने चलन छ । दुलाहा इन्जिनियर भए १५ लाख रुपैयाँभन्दा बढी रकमको दाइजो माग हुन्छ । बेरोजगार केटासँग विवाह गर्न पनि एक लाख रुपैयाँसम्म नगद दाइजो र उसले रोजेको सवारी दिनैपर्ने किटान हुन्छ । महिला नेपालको कानुनमा बालविवाहलाई गैरकानुनी मानिएको छ । कुनै बाबुआमाले आफ्ना छोराछोरीको १८ वर्ष नपुगी बिहे गराए भने उनीहरूलाई सजायको व्यवस्था छ । तर पनि रूपन्देहीका केही गाउँमा बालविवाहले अझै पनि संस्कारकै रूपमा मान्यता पाइराखेको छ । कसैले धर्म त कसैले प्रतिष्ठाका रूपमा आफ्ना अबोध बालबालिकाको विवाह गराइरहेका छन् । अधिकारकर्मी विजयालक्ष्मी राय भन्छिन्, ‘सानैमा छोरीको बिहे गर्दा त दुलाहा पनि सानै हुन्छ । उसको माग धेरै हँुदैन । त्यसैले धेरै अभिभावक छोरीलाई पढाएर बिहेको खर्च बढाउन खोज्दैनन् । बरु सानैमा बिहे गरेर पठाउँछन् ।’ बालविवाह हुने भनेर चिनिने रूपन्देहीको सिलौटिया गाविसका सचिव शैलेन्द्र मिश्राले बालिका र किशोरको विवाह बढी हुने बताए । ‘कानुन बनेर मात्र हुँदैन, शिक्षित भएर पनि हँुदैन,’ उनले भने, ‘दाइजोको मोलमोलाइ हुने चलन नरोकिएसम्म बालविवाह रोकिने छाँट देखिँदैन ।’  नेपालको कानुनमा बालविवाहलाई गैरकानुनी मानिएको छ । कुनै बाबुआमाले आफ्ना छोराछोरीको १८ वर्ष नपुगी बिहे गराए भने उनीहरूलाई सजायको व्यवस्था छ । तर पनि रूपन्देहीका केही गाउँमा बालविवाहले अझै पनि संस्कारकै रूपमा मान्यता पाइराखेको छ । कसैले धर्म त कसैले प्रतिष्ठाका रूपमा आफ्ना अबोध बालबालिकाको विवाह गराइरहेका छन् । यो कुरा प्रहरीको खबरमा नआएको पनि होइन । तर, विवाहको उजुरी नै नआएपछि त्यस क्षेत्रमा काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर खत्री बताउँछन् । पछिल्लो जनगणना ०६८ अनुसार एक लाख ३८ हजार १५ नेपालीले १० वर्ष नपुग्दै बिहे गर्ने गरेका छन् । जसमा बालकभन्दा बालिका बिहेको अनुपात झन्डै पाँच गुणा बढी छ । सङ्ख्यात्मक रूपमा दश वर्ष नपुग्दै बिहे गर्नेमा एक लाख १५ हजार एक सय ५० महिला छन् । यस्तै १० देखि १४ वर्षको उमेर समूहमा १३ लाख ६३ हजार एक सय सातजनाले विवाह गरेका छन् । यसमा पनि ११ लाख एक हजार आठ सय ८५ महिला छन् । यस्तै, ४३ लाख ४० हजार पाँच सय महिलाको बिहे १५ देखि १९ वर्ष उमेरमा भएको छ । नेपालको कानुनले बालविवाहलाई निषेध गरेको छ । त्यसलाई कार्यान्वयन गराउन, बिहेबारी २० वर्षपारि भनेर विभिन्न राष्ट्रिय कार्यक्रमसमेत ग¥यो । तैपनि बालविवाह रोकिएको छैन । तराई मधेसका समुदायमा रहेको यो चलनबाट बालकभन्दा बालिकामा बढी पीडित छन् । जनगणनाको यो तथ्याङ्कले बालअधिकारसम्बन्धी नेपालले बनाएका राष्ट्रिय कानुन र प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिको खिल्ली उडाएको अधिवक्ता सूर्य अधिकारी बताउनुहुन्छ । कानुन बनाउने तर त्यसको कार्यान्वयन गर्ने पाटोलाई बलियो नबनाउँदा यो समस्या देखिएको उहाँको विश्लेषण छ । अधिवक्ता सूर्य अधिकारी भन्नुहुन्छ, ‘बालविवाह रोक्न कानुन बनाएर मात्र पुग्दैन, त्यसको व्यावहारिक पालनामा शिक्षा तथा चेतना फैलाउन सबैले अभियान थाल्नुपर्छ ।’ संचारिका फिचर सेवा  

Posted on: 2013-Oct-12


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar