28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हुङ्कार युवाको, आव्हान जनताको

12 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 किशोर नेपाल
हो, हूँकार युवाले गर्दछन । किनभने, यो उनीहरुको दायित्व हो । युवाजगत जनताको आव्हानमा जागोस र दुनियाँलाई जगाओस । यो दुनियाँमा तन्नेरी पुस्ताले गर्न नसक्ने कुरा के नै छ र ? हाम्रो आफनै देशको कुरा गरौं । यो देशमा अहिलेसम्म जति पनि परिवर्तन भए, तिनका लागि पहलमानी तिनैले खेले । आफनो रगत दान दिए देशका लागि । युध्द लडे परिवर्तनका लागि । जव परिणाम खोज्ने समय आयो उनीहरु वाहिर पारिए शक्ति र सत्ताको बृत्तबाट । यसले ती युवाहरुको मन भरंग भयो जो देश बनाउने कुरामा आफनो योगदान खोजिने आशामा थिए । तन्नेरी पुस्ताकै योगदानका कारण देशमा युगान्तकारी परिवर्तन आएको थियो । यस्तो कहिल्यै भएको थिएन । परिवर्तनले एउटा युगको अन्त्य गर्यो । तर, देश निर्माणमा तन्नेरी पुस्ताको योगदान खोजिएन । देशमा जे थियो त्यो युध्दले खोक्रो पारी सकेको थियो । देशमा जव शान्ति आयो त्यतिबेला न त काम थियो, न कामगर्ने वातावरण । देश आशा र निराशाको व्दन्व्दमा फँसेको समयमा लाखौंलाख तरुणहरु हरियो पासपोर्ट बोकेर कामको खोजीमा विदेश पुगे । अहिले अलग संस्कृति र अलग वातावरणमा उनीहरु तरतर पसीना बगाउँदैछन । कस्सिएर काम गर्दैछन । उनीहरुको शक्ति देशको नव निर्माणमा काम लागेन । तर, बिडम्बना कि, उनीहरुको कमाइ देश धान्नका लागि आर्थिक परिचालनको स्रोत बनेकोछ । नेपाली समाज परिवर्तनका परिणामहरु संस्थागतगर्न जुर्मुराएको छ । जनताको यो जुर्मुराहट र जागरुकतामा निरन्तरता छ । साँच्चै नयाँ जागृति र नवीन चेतनाको सङ्घारमा उभिएको छ हाम्रो समाज । हिंसात्मक द्वन्द्वले नेपाली नागरिकहरूलाई आर्थिक, राजनीतिक र सामाजिक यथार्थहरूको सामना गर्न सक्ने बनाएको छ । संविधानको किताबमा सधैँ शक्तिको स्रोत भनेर किटान गरिए पनि अन्तरनिहित शक्तिको अनुभव र प्रयोगबाट सधैँ वञ्चित गराइएका जनता एउटा नयाँ र विश्वव्यापी परिवर्तनको आकर्षक अवतारका रूपमा प्रस्तुत भइसकेका छन् । शदीयौँदेखि स्थापित सत्ताको केन्द्र चकनाचुर भएको छ । जनतामा शक्ति अवतरणको क्रम जारी छ । तर पनि नेपालका राजनीतिक दलका नेता, वुध्दिजीवी, साहू, महाजन, उद्योगपति– ब्यापारी, नीति–निर्माता र कर्मचारीतन्त्र कसैले पनि आफ्नो द्वैध चरित्र त्याग्न सकेका छैनन । आफूलाई बिकासवादी वताउनेहरूले आफ्नो दृष्टिकोण बदल्न सकेका छैनन । देशको आवश्यकता र चिन्तनको नियमित शैलीका बीच आकाश र जमीनको अन्तरछ ।  बिकास र समृध्दिको राजनीतिलाई हेर्ने नेपाली दृष्टिकोण अहिलेसम्म पनि परिपक्व हुन सकेको छैन । हाम्रा राजनीतिक दलहरुले नयाँ दृष्टिकोणको विकास गर्न सकेका छैनन । उनीहरु आफनै अनुभवलाई पछाडि फर्किएर हेर्दैनन । अर्काको अनुभवबाट सिक्ने त कुरै भएन । नीति–निर्माणको तहमा बसेका राजनीतिक दलका नेताहरू र संस्थापन पक्षसँग सम्बद्ध व्यक्तिहरू स्वार्थ लम्पट छन । उनीहरुको कुरै नगरे भयो ।  प्रसंगमा नेपालका संचार माध्यमहरुलाई पनि हेर्नुपर्ने हुन्छ । विगत ५० वर्षको अवधिमा नेपालका सञ्चारमाध्यम र पत्रकारहरूले आफूलाई सधैँ सत्ताको वृत्तमा राख्दै आएको देखिएको छ । २००७ देखि २०१७ सालसम्मको प्रजातान्त्रिक कालमा र त्यसपछि राजाको निर्दलीय शासन व्यवस्थामा समेत सञ्चार माध्यमलाई सत्ताले पुलपुल्याएर पाल्यो । उनीहरुको ध्वनि जतिसुकै विपक्षमा सुनिए पनि सञ्चार जगत संस्थापन पक्षबाट कहिल्यै अलग वा प्रतिपक्षको भूमिकामा रहन सकेन । अहिले गणतन्त्रमा पनि यही अवस्था कायम छ । यो कसैका लागि पनि सुखद पक्ष होइन । संचार माध्यम निष्पक्ष नभएपछि विकासका अवधारणाहरु खुला वातावरणमा खेल्न पाउँदैनन । जबसम्म जनताले हामीलाई यो चाहिएको छ भनेर निश्चयात्मक आवाज उठाउन सक्दैन तबसम्म सरकारी विकासको अर्थ हुँदैन । जबसम्म तन्नेरी पुस्ता बिकाससंग जोडिदैन तबसम्म बिकासको संरचना खडाहुन सक्दैन । यतिबेला, देशका राजनीतिक दलहरु हलचलमा छन । उनीहरुको अस्तित्वमा नसोचेको संकट आउन थालेको छ । पार्टीहरुको संरचना लोकतान्त्रिक नभएर सामन्तवादी छ । चाहे कांग्रेस होस वा कम्युनिष्ट वा अरु कुनै, पार्टीहरुमा सैध्दान्तिक विचलन आउन थालेको छ । राजनीतिक दलहरु विचौलिया, ठग र अपराधीहरुको आश्रयस्थल बन्न लागेको देखिएको छ । पुस्तान्तरणको समस्याले पार्टीका कृषकाय र बयोबृध्द नेताहरुलाई गाँजेको छ । यस्तो देखिन्छ कि उनीहरु सत्तामाथिको आफनो पकड आफनो प्राणसंगै छोडन चाहन्छन । अहिलेसम्म भत्किन नसकेको यथास्थितिवादी चक्रव्यूहमा परेको छ लोकतान्त्रिक पध्दति । यो पध्दतिलाई जोगाएर बिकासको बाटोमा लम्किनुपर्ने हाम्रो आवश्यकतालाई युवा पुस्ताले नै पूरा गर्न सक्दछ । एकपटक फेरी जनताले आव्हान गरेका छन युवा पुस्ताको हूँकार । यो हूँकार विनासको लागि होइन, बिकासका लागि हो । संगतिपूर्ण, समावेशी, समानुपातिक समाजको निर्माण नारा लगाएर मात्रै हुँदैन । आजका हाम्रा युवा साथीहरु अभियन्ता बनेर रचनात्मक लडाईंमा जुटनु परेको छ । देशको कल्याण त्यसबाट मात्रै सम्भव छ ।  

Posted on: 2023-Oct-12


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar